अर्घाखाँचीमा मसाल निकट युवक संघद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरूद्ध प्रदर्शन (भिडियो, तस्बिर सहित)


बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरूद्ध प्रदर्शन गरेको छ ।
सन्धिखर्कमा आज शुक्रबार अखिल नेपाल युवक संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरूद्ध प्रदर्शन गरेको हो ।
युवक संघले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग समेत गरेको छ।
आयल निगमको अत्याचार भित्रभित्रै भ्रष्टाचार, जनतालाई मार्न पाइँदैनलगायत जस्ता नाराहरु लगाउदै प्रदर्शन गरेका थिए। बजारका विभिन्न भागमा पछि शान्ति बगैचामा कोणसभा सम्पन्न भएको थियो ।
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब  मनोज भट्टको प्रमुख आथित्वमा सम्पन्न उक्त विरोध प्रदर्शनमा जिल्ला अध्यक्ष कुलराज खनाल लगायतको उपस्थिती रहेको थियो ।
महासचिब  मनोज भट्टले सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने बताए ।  एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध भएको उनले बताए । उनले नेपाल त्यसमा सामेल भए नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने भट्टले उल्लेख गरे । लामो समयसम्म हिंसात्मक संघर्ष, राष्ट्रिय विखण्डनको षड्यन्त्र र अस्थिर राजनीतिबाट मर्माहत भएको स्थितिमा एमसीसीलाई अनुमोदन गर्नासाथ परिस्थिति झन् खराब हुने उनले दाबी गरे ।
कार्यक्रम जिल्ला सचिब ठाकुर पंथि सुनारको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल आयल निगमले गत बुधबार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गरेको थियो।