काठमाडौं । सत्ता जोगाउन २- २ पटक संसद बिघटन गर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो ।
‘(संसद० किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको आरोप लगाउनुभयो । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उहाँको आरोप छ ।
संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो । एमालेले कारबाही गरेका सांसदलाई संसदमा राखिएकोमा एमालेले आपत्ति जनाउँदै आएको छ ।