काठमाडौं । अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको थलो बन्नसक्ने खतरा औंल्याएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ ।
त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रूपमा उल्लेख गरेको छ ।
सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।
सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको ठूलो हब रहेको बताएको थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा मात्र सुरक्षा जोखिमको रूपमा रहेको भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकाविरोधी कुनै आतंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।
आतंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम औंल्याइएको छ । इमेज च्यानालमा समाचार छ ।