सन्धिखर्कभरका वार्ड कार्यालय, विद्यालय, पसलहरु व्यापक चोरी | वाङ्लामा पनि अज्ञात समुहले तोड्फोड गरी लाखौं रुपैयाँ चोरे


अर्घाखाँचीडट्कम संवाददाता | महेश्वर पन्थी
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ४ र ५ वाङ्लामा अज्ञात समुहले तोड्फोड गरी लाखौं रुपैयाँ चोरी गरेको छ ।   
 वाङ्ला
पौष ९ गते शुक्रवार अर्घाको वार्ड कार्यालय लगायत मिनिकोट, धरमपानीको वार्ड कार्यालय र सो कार्यालय वरिपरि रहेका पसलमा भएको चोरीको घटना ताजा रहेकै वेला वाङ्लामा गएराती चोरी भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नं ५ वरपोखरा स्थित नारायण न्यौपानेको दूध डेरी पसल, सोही स्थानको फेन्सी पसल, छात्रावासमा स्थित अर्याल किराना पसल, तीर्थथुमस्थित कृष्ण भुसालको किराना पसल, श्री जीवनोद्धार माध्यमिक विद्यालय, रानीपोखरा पाण्डेटोलमा रहेको बालानन्द अधिकारीको पसल, हटिया बजारमा रहको राधाकृष्ण मन्दिर र सोही स्थानको एक घरमा गए राती एकसाथ चोरी भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नं. ५ मा रहेको श्री जीवनोद्धार माध्यमिक विद्यालयमा विद्यालयको कार्यालय रहेको भवनको २ वटा कोठामा लगाएका ताला फोरी प्रधानाध्यापकको कार्यकक्षमा रहेको टेवुलको घर्रामा साँचो लगाइ राखिएको कक्षा ११ को रजिष्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन राजस्व दस्तुर मार्फत उठाइएको रू ६०,००० रकम नगद चोरी भएको छ । 
विद्यालयको उक्त कार्य कक्षमा रहेका २ वटा कागजात राख्ने स्टील दराजसमेत फोरिएको छ । यसैगरी सोही स्थानमा लामो समयदेििख किराना  र निर्माण सामग्रीको व्यवसाय गरी आउनु भएका कृष्ण भुसालको पसलबाट करिब नगद रू ३०,००० ।, पाण्डे टोलका बालानन्द अधिकारीको पसलबाट ९०,००० काबराबरका रिचार्ड कार्ड, वरपोखरा स्थित फेन्सी पसलबाट १०,००० नगद, हटिया बजारको रात्राकृष्ण मन्दिरबाट दानपेटिका रहेको केही नगद र सोही स्थानमा एक घरबाट झन्डै १० तोला सुन चोरी भएको छ । छात्रावासस्थित एक मेडिकल पसलबाट नगद जम्मा गर्ने काउन्टर फोरिएको तर रकम भने सो स्थानमा नरहेकोले चोरी हुन नपाएको सञ्चालक सिर्जना अधिकारी भुसालले जनाएकी छन् । छात्रावासस्थित अर्याल किराना पसलबाट केही मदिरा चोरी भएको छ । 
गएराति भएका चोरीको प्रकृति अध्ययन गर्दा पसलमा नगद  र रिचार्ज कार्ड बाहेक अन्य सामग्री चोरी नभएको देखिएकोले चारै कार्यमा संलग्नहरूले नगद चोरी गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुमान गरिएको छ । एकैदिन एकै समयमा वाङ्गलामा ९ स्थानमा चोरी भएपछि वाङ्गलावासीमा त्रास उत्पन्न भएको छ । चोरीको खवरप्राप्त गर्ने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले चोरीमा संलग्न रहेकाहरूको खोजी कार्य तीव्र बनाएको छ । 

अन्य समाचारहरु