माओवादी केन्द्रसँग मन र भावना मिलेको छ, बाँकी कुरा मिल्दै जान्छः माधवकुमार नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग आफ्नो मन र भावना मिलेको बताएका छन्।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष नेपालले माओवादीसँग अहिले मन र भावना मिलेको र बाँकी कुरा पनि मिल्दै जाने बताए।
नेपालले भने, ‘महाधिवेशन गरेर माओवादीसँग मन र भावना मिलेको छ। त्यो मिलेपछि बाँकी कुरा मिल्दै जान्छ।’
अहिलेको अवस्थामा सबै दलहरु मिलेर जान आवश्यक रहेकोमा नेता नेपालले जोड दिए। राजनीतिक क्रान्तिको काम सकिएको उनको भनाइ  थियो।
‘अहिले दलहरु मिलेर जान आवश्यक छ। मूल कुरामा मिल्यो भने बाँकी कुरा थाती राख्न सकिन्छ। राजनीतिक क्रान्तिको काम सकिएको छ। गणतन्त्र, संविधान ल्याएका छौँ। संविधानको पालना गरिएन भने भद्रगोल हुन्छ। जुनसुकै तहका नेता कार्यकर्ता हुन्, विधि विधानको पालना गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने।
राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य नहुने उनले बताए। उनले भने, ‘राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन्न। त्यस्ता खालका तानाशाहीसँग लडेर मात्रै अघि बढ्न सकिन्छ। सबैप्रति सम्मान भाव राखेर अघि बढे मात्रै प्रगति गर्न सकिन्छ।’
आफूहरु काम र व्यवहारमा कहाँ चुक्यौँ भनेर समीक्षा गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो। ‘काम र व्यवहारमा हामी कहाँ चुक्यौँ समीक्षा गर्न आवश्यक छ। प्रधानमन्त्रीलाई आग्रह छ, छलफल सुरु गर्नुहोस्। नेपाली नमुनाको समाजवादी कस्तो हुनेछ? त्यसबारे छलफल थालौँ। अन्याय अत्याचार अन्त्य हुनैपर्छ। नेपाललाई अघि लैजान सक्ने स्रोत र खुबी भएको क्षमता हामीसँग छ।’
महाधिवेशन सिद्धान्तमा छलफल गर्ने थलो मात्रै नभइ जनताको जीवनस्तर उकास्ने र समाजलाई परिवर्तन गर्ने विषयमा पनि केन्द्रित हुनुपर्ने उनले सुझाव दिए। देशसन्चारमा समाचार छ ।