भोली १३ हजार ९३ प्राथमिक शिक्षकको लागि विज्ञापन खुल्दै

काठमाडौं । शिक्षक सेवा आयोगले १३ हजार ९३ प्राथमिक शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ ।
मंगलबार बसेको आयोगको बैठकले प्राथमिक तह तृतीय श्रेणी खुलातर्फको विज्ञापन बुधबार खुलाउने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।
विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिनेछ । इच्छुकले माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।
विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।
आयोगले यसअघि नै माध्यमिक तहमा १ हजार ५ सय ४७ र निमावि तहमा २ हजार ५ सय ९८ पदका लागि विज्ञापन गरिसकेको छ । इमेज च्यानलमा समाचार छ ।