अस्ट्रेलियाको सिड्नीमा सयौं मानिसलाई कोरोना संक्रमण भएको त्रुटिपूर्ण रिपोर्ट

एजेन्सी 
। अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा प्रयोगशालाले सयौं मानिसलाई कोरोनाभाइरसको संक्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएको खुलासा भएको छ ।
क्रिसमसका समयमा भएको उक्त त्रुटि ‘तथ्याङ्क प्रशोधनमा समस्या हुँदा’ देखा परेको बताइएको छ ।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा शक्तिशाली ओमिक्रोन भेरिअन्टको प्रवेशसँगै संक्रमण बढिरहँदा यस्तो विवरण आएको हो । अधिकारीहरूले स्वाब परीक्षण गर्ने मानिसको संख्या बढेकाले पहिला गरिएका धेरै परीक्षणको परिणाम दिन नसकिएको जनाएका छन् ।
कतिपय प्रभावित मानिसले नजानीकनै आफूहरुले क्रिसमसको समयमा आफ्ना प्रियजनलाई संक्रमण सारेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सीडप्याथ नामक प्रयोगशालाले आज विज्ञप्ति जारी गर्दै कुल ८८६ जनालाई प्रभावित पार्नेगरी भएको गल्ती आफ्ना कर्मचारीले कामको चापका कारण भएकोले क्षमा मागेको छ ।
सीडप्याथले कामको चापका कारण स्वचालित प्रणालीको सट्टा हाते विधि अवलम्बन गरेको समेत उल्लेख गरेको छ । त्यसपछि पुनः स्वचालित प्रणालीमा नै फर्किएको र आफ्नो परीक्षणको गुणस्तर कायम राख्न स्वाब परीक्षणको संख्या घटाएको उल्लेख गरेको छ ।