२०७८ माघ १६, आइतवारमा प्रकासित
२०७८ माघ १६, आइतवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ ।
एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आज आईतवार साँझ ७ बजे ६२ बर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचारको क्रममा निधन भएको हो ।
थापालाई कोरोना संक्रमण भएको बताइएको छ । साथै ३ दिन अगाडि मृगौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतका बिरामीका कारण थापालाई काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचार गरिरहेको थियो । थापाको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो । उनी ३ वर्षदेखि बिरामी थिए ।
नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा थिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको, एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो ।
२०७० साल अघि उनी जिल्लामा आयआर्जन कार्यक्रममार्फत सबै गाउँमा कृषि उद्यम, खेतीप्रणालीमा सुधार, तरकारी खेती गर्ने तरिका लगायतका कार्यक्रम सञ्चालन गरेका थिए ।
परियोजनामार्फत उनले जिल्लाको नरपानी, धातीवाङ, अर्घा धरमपानीलगायतका अधिकांश गाउँमा खानेपानी योजना सञ्चालन गरेर स्थानीयको घर–घरमा खानेपानीका धारा जडान गरेका थिए । उनले खानेपानी, विभिन्न भवन निर्माण, आयआर्जन, महिला उद्यम सम्बन्धी करोडौंको परियोजना सञ्चालन गरेका थिए । यही लोकप्रियताका कारण थापाले संविधानसभाको निर्वाचनमा कांग्रेस नेतृ पुष्पा भुसाललाई पराजित गरेका थिए ।
एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए । विकास निर्माणमा जिल्लामा ठूलो योगदान गरेका थापाको निधनले पाटीलाई ठूलो क्षति भएको समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताए । थापा जिल्लामा बौद्धिक व्यक्तिको रुपमा परिचित थिए ।
उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए । दुमन थापा अमेरिकी पूर्वराष्टपति कार्टर सेन्टरको नेपाल प्रतिनिधि भएर नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको सहजकर्ता समेत भएको एमाले जिल्ला नेता प्रेम नारायण गैरेले बताए ।