अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सञ्चालित सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।
बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुले ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लेखित दुरीसम्बन्धी कुनै पनि मापदण्ड पूरा गरेका छैनन् । जिल्लामा चलेका सबै क्रसर उद्योगहरु राजनीतिक दल, कर्मचारी, ठेक्दारहरुको मिलिमतोमा संचालन हुँदै आएका छन् ।
उता नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले अहिलेसम्म कुनै अनुगमन गरेको देखिदैन ।
सन्धिखर्क लगायतका जिल्लाभर ठूलो परिणाममा अवैध क्रसरहरुले ढुंगा, गिट्टी र बालुवा निकाल्दा पनि सरोकार निकाय मौन छ।
अवैध तरिकाले खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन, ओसारपसार गरी क्रसर उद्योगहरुले जंगलमा भण्डारण गर्नेे र आन्तरिक राजस्व कार्यालयबाट स्वीकृत नलिएका नक्कली भ्याट प्रयोग गर्ने गरेको स्थानीयहरुले अर्घाखाँचीडट्कमसँग गुनासो गरे । नदीजन्य पदार्थको दोहनबाट वार्षिक करोडौँ बढीको क्षति हुने गरेको स्थानीयहरु बताउँछन्।
जथाभावी उत्खनन र निकासी गर्न थालेपछि अर्घाखाँचीका अधिकांश गाउँहरु जोखिममा परेका छन्। भने मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न स्थानीयहरुको माग छ ।