सागर वि.क.
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं.१४ सिमलपानीमा अवस्थित श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त संस्थाको सोही वडाको विक्रममा आज सोमबार चौथो बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले सहकारीमा राजनिति प्रवेश गराउन नहुने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख अधिकारीले गंगाजल कृषि तथा पशु विकास महिला सहकारी नगरको एक सर्वोत्कृष्ट सहकारी भएकाले थप उदाहरणीय कार्य गर्दै जानुपर्ने बताउनुभयो ।
सहकारीमा भए गरेका गतिविधिको निरन्तर अनुगमन गर्दै यस सहकारी सर्वोत्कृष्ट बन्न सफल भएको नगर प्रमुख अधिकारीको भनाई छ । हालसम्म सहकारीले सबैको विश्वास प्राप्त गर्न सफल भएको र आगामी दिनमा पनि यस विश्वासनीयता कायम गर्न सहकारी सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस सहकारीले आम कृषकको जनस्तरको विकासमा थप महत्वपूर्ण भमिका खेल्दै यस क्षेत्रलाई पशुपालनको केन्द्रको रुपमा स्थापित गर्न सफल हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख टिका रेस्मीले सहकारीलाई सफलता दिलाउँन सबैमा ईच्छा शक्ति हुनुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका उपप्रमुख रेस्मीले यस सहकारीलाई अहिलेको अवस्थासम्म ल्याउन आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । नगरपालिकामा आफुहरुले थुप्रौ विकास निर्माणका कार्यहरु गरेको दाबी गर्दै उपप्रमुख रेस्मीले विकास निर्माणका कामहरु देख्न नसके विरोधी तत्वहरुले विरोध गरेको बताउनुभयो ।
यस्तै वडा नं.१४ का वडाध्यक्ष दामोदर न्यौपानेले सहकारी तथा संस्था निर्माण एवम् विकास निर्माणका काममा राजनिति नगर्न आग्रह गर्नुभयो । यस सहकारीको विकासको लागी वडाको तर्फबाट जति सक्दो आफुले सहयोग गरेको वडाध्यक्ष न्यौपानेले जिकीर गर्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष सीता लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ३६ जना सदस्य मिलेर दर्ता गरेको सहकारीमा हाल ५८७ जना महिला सदस्य रहेको बताउनुभयो ।
यस्तै सहकारीका लेखा संयोजक सरस्वती पाण्डेले आर्थिक तथा लेखा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सहकारीका व्यवस्थापक कृष्ण दर्लामीले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा सहकारीमार्फत एक वर्षमा १० वटा भन्दा बढी खशीहरु बेच्नेहरुलाई सम्मानसहित अनुदान प्रदान गरिएको छ ।