शोभाखर पन्थी
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमाले सँग प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्य कुनै राजनीतिक दलमा नभएको बताउनुभएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेका दिवंगत पिता खिमानन्द न्यौपानेको श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले मुलुकको बिकास र समृद्धि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै आगामी निर्वाचनमा एमालेले अत्यधिक ठाउँमा बिजय प्राप्त गर्ने दावी गर्नु भयो । पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले दिवंगत न्यौपाने नेकपा एमालेको असल अभिभावक भएको भन्दै उहाँको निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताउनुभयो । स्वर्गीय न्यौपानेले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उहाँले देश र जनताले उहाँको योगदानको स्मरण गरिरहने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य बिमला घिमिरेले नेकपा एमालेको पक्षमा व्यापक जनलहर देखेपछि सरकारी गठबन्धन झस्किएको बताउनुभयो । उहाँले नेकपा एमालेको दबाबका कारण सत्ता गठबन्धन चुनाव गराउन बाध्य भएको भन्दै जनताले सत्ताधारी गठबन्धनलाई चुनावमा ठेगान लगाउने दावी गर्नुभयो ।राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका घिमिरेले दिवंगत न्यौपानेले समाज रुपान्तरण र बिकासमा पुर्याउनु भएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै उहाँका अपुरा सपना पार्टीले पूरा गर्ने दृढता समेत प्रकट गर्नुभयो ।
नेकपा एमालेका नेता जिवलाल घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,बलराम अधिकारी ,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,ईन्द्रमणी पौडेल ,कासिराम बेल्बासे,लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल ,कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु , अर्घाखाँची र कपिलवस्तु जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु एवं ठुलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१९९८ सालमा जन्मनु भएका न्यौपानेको यही माघ १९ गते ८१ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियोे ।