एमालेकै कारण एमसीसी गिजोलियो | एमाले गैरजिम्मेवार बन्दै : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद जीवनराम श्रेष्ठले एमालेकै कारण एमसीसी गिजोलिएको आरोप लगाउनुभएको छ ।
संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूमाझ प्रतिक्रिया दिँदै सांसद् श्रेष्ठले एमाले सरकारमा भएको बेलामै एमसीसीलाई संसदमा लगेर पारित गर्ने निर्णय गरेकाले एमसीसी गिजोलिएको आरोप लगाउनुभयो ।
‘एमालेकै कारण एमसीसी गिजोलियो,’ उहाँले भन्नुभयो, ‘एमाले सरकारमा भएको बेलामा एमसीसीलाई संसदबाट पारित गर्ने निर्णय गरेको हो र संसदबाट पारित नभइ कार्यान्वयनका लागि हस्ताक्षर गरेको हो ।’
एमाले गैरजिम्मेवार बन्दै गएको भन्दै सांसद श्रेष्ठले जिम्मेवार बन्न सुझाव दिनुभयो । उहाँले एमालेले जनताको बीचमा एमसीसीको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने पनि उहाँको भनाइ छ ।
सांसद श्रेष्ठले बुधबारको संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूहरूले अहिले नै एमसीसी अघि बढाउन नहुने धारणा राखेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘तत्काल अवरोध भइरहेको स्थितिमा लैजाँदा सांसदहरुले छलफल गर्न पाउँदैन, राष्ट्रिय महत्त्व राख्ने विषयमा जनताका प्रतिनिधिले छलफल नगरी अघि बढाउँदा त्यसले दूरगामी प्रभाव पर्नसक्छ भनेर अघि नबढाउन भनेका हौं ।’
एमसीसीको विषयमा छलफल हुनका लागि संसदको अवरोध खुल्नुपर्ने र प्रमुख प्रतिपक्षी दललाई समझदारीमा ल्याउनुपर्ने आफूहरुको धारणा रहेको सांसद श्रेष्ठले जानकारी गराउनुभयो ।
राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ । इमेज च्यानलमा समाचार छ ।