गोपाल प्रसाद भट्टराई
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरमा अस्थायी प्रहरीचौकी स्थापना भएको छ ।
शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यका साथ स्थापना भएको प्रहरीचौकीको आज एक कार्यक्रमको बिच भुमिकास्थान नगरप्रमुख रेसम थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगरप्रमुख थापाले धनचौरमा प्रहरीचौकी स्थापना भएपछि शान्ति सुरक्षा थप मजबुत हुने विस्वास व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएदेखिकै पहलकदमीले स्थापित प्रहरीचौकीले धनचौर मात्रै नभई भुमिकास्थानको ढिकुरा,नुवाकोट,झिमरुक सहित शितगङ्गाको पखेरे र जुकेना सम्मको शान्ति-सुरक्षा चुस्त हुने बताउनुभएको छ । समाजमा शान्ति सुरक्षालाई चुस्त राख्न चौकीमा बस्ने प्रहरीलाई आग्रह गर्दै उहाँले प्रहरीचौकीको भौतिक विकासको निम्ति आवश्यक सहयोग गर्न बचन समेत दिनुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले राज्यले दिएको जिम्मेवारी सहि ढंगबाट पुरा गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । आम नागरिक पनि बर्दिबिनाको प्रहरी भएकोले शान्ति कायम राख्न सुरक्षानिकायलाई सहयोग गर्न प्रजिअ घिमिरेले समुदायलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षालाई मजबुत पार्न आफुहरुले कुनै कसुर बाकी नराखेको बताउनुभएको छ ।
धनचौर सहित आसपासका क्षेत्रमा यहि प्रहरीचौकीले सेवा दिने जानकारी गराउदै प्रहरी प्रमुख क्षेत्रीले आवश्यक सहयोग गर्न वडा तथा नगरलाई आग्रह गर्नुभएको छ । प्रहरी निरीक्षक गणेश खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष खगिस्वर पन्थीले स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा वडाध्यक्ष पन्थी,जनजागृती मा.वि.का शिक्षक नितु राना र पुर्व शिक्षक मान बहादुर रायमाझीले मन्तव्य राख्दै बिपदमा राहत पाउन प्रहरी मुचुल्का बनाउने देखि अन्य सुरक्षाको सेवाबाट समेत बन्चित भएका धनचौर क्षेत्रका नागरिकले राहतको महसुस गरेको बताउनुभएको छ ।
जिल्ला प्रहरीकै जनशक्तिबाट संचालन हुने धनचौर प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक राकेश ठाकुरले कमान्ड गर्नुहुने जिल्ला प्रहरी अर्घाखाँचीले जनाएको छ ।