अर्घाखाँचीडट्कम
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले नेपाली जनता आधा पेट खाएर बस्न तयार भएको तर एम.सी.सी. कुनै पनि हालतमा पारित गर्न तयार नभएको दाबी गर्नुभएको छ ।
नेपाल सरकारले २०७८ फागुन ८ गते प्रतिनिधि सभाको बैठकमा एम.सी.सी. टेबल गरेसँगै सांसद पौडेलले यस्तो दाबी गर्नुभएको हो ।
‘सरकारलाई पैसा चाहियो भने नेपाली जनता आधा पेट खाएर विकास निर्माणका लागि पैसा दिन तयार छन्’ उहाँले भन्नुभयो– ‘तर जनता एम.सी.सी. पारित नहोस् भन्ने चाहन्छन् ।’
सांसद पौडेलले सरकारलाई एकपटक सडकतिर पनि हेर्न आग्रह गर्दै भन्नुभयो– ‘यतिखेर संसद्बाहिर नेपाली जनताले आधा पेट खाएर भए पनि देशको विकासका लागि रकम जम्मा गर्न तयार छौँ तर एम.सी.सी. स्वीकार्न सक्दैनौँ भन्दै आन्दोलन गरिरहेका छन् ।’
सम्बोधनको क्रममा उहाँले छिमेकी देश श्रीलङ्काले एम.सी.सी. अस्वीकार गरेको सन्दर्भ उठाउँदै नेपालले पनि त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
उहाँले एम.सी.सी. कुनै पार्टीविशेषको विषय नभएको पनि स्पष्ट पार्नुभयो ।
‘एम.सी.सी. को सवाल कुनै पार्टीविशेषको होइन’ उहाँले भन्नुभयो– ‘यो त सिङ्गै देशको राष्ट्रिय सार्वभौमिकताको सवाल हो ।’
उहाँले भन्नुभयो– ‘देशै रहेन भने यहाँ कुनै राजनीतिक पार्टी पनि रहन्न ।’
‘सार्वभौमसत्ता पैसासँग साट्न मिल्ने विषय होइन’ उहाँले भन्नुभयो– ‘एम.सी.सी. लाई संसद्मा टेबल गर्ने होइन, खारेजै गर्नुपर्छ ।’
सम्बोधनको क्रममा सांसद पौडेलले देशभित्र व्याप्त भ्रष्टाचार र करछलीलाई मात्रै नियन्त्रण गर्ने हो भने ५५ अरब रुपिया सहजै जम्मा गर्न सकिने र त्यसबाट देशको विकास गर्न सकिने बताउनुभयो ।
सांसद पौडेलले आफ्नो सम्बोधन समाप्त गरेपछि पनि लगातार संसद्भित्र यथास्थानमा उभिएर एम.सी.सी. को विरोधमा जोडदार ढङ्गले नाराबाजी गरिरहनुभयो ।