एमसीसी संसदमा टेबल भएसँगै काठमाडौंमा व्यापक प्रदर्शन, रणभूमि बन्यो नयाँ बानेश्वर

काठमाडौँ ।  सरकारले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबल गरेको छ ।
उता, राष्ट्रिय जनमोर्चाले एम.सी.सी. संसद्मा टेबल गर्न नहुने अडानमाझ पाँचदलीय गठबन्धनका बाँकी चार दलको सहमतिमा प्रतिनिधि सभा (संसद्) टेबल भयो, यता, सदनबाहिर नयाँ बानेश्वर भने रणभूमि जस्तो बनेको छ ।
केही दिनदेखि संसद्मा एम.सी.सी. टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभएपछि एम.सी.सी. टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको हो ।
प्रतिनिधि सभाको २०७८ फागुन ८ गते आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एम.सी.सी. संसद्मा टेबल गराएलगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काए ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले पनि आन्दोलनमा सशक्त उपस्थिति देखाए ।
प्रदर्शनकारीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भयो भने सो क्रममा दर्जनौँ घाइते भए । प्रदर्शन गर्नेमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीको भ्रातृ सङ्गठन पनि थिए ।
प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । युगदर्शनमा समाचार छ ।