सिद्धाराको श्री जन जागृति मावि बाघखोरमा ३७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस मनाइयो


गणेश बेल्बासे संगम
 सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – १० सिद्धाराको बाघखोरमा रहेको श्री जन जागृति माध्यमिक विद्यालयले ३७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयका प्रधानाध्यापक रोमाखर बन्जाडेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । स्थापनाकालदेखि हालसम्म शैक्षिक विकास र गुणस्तरीय शिक्षामा उच्च प्राथमिकतामा राख्नुका साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयमा पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरि रहेको उहाँले जानकारी गराउनु भयो ।
प्रमुख अतिथीका रूपमा कार्यक्रममा बोल्दै शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीले विद्यालयलाई नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदानका लागि नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे । त्यसै सन्दर्भमा उहाँले अक्ष्य कोषका लागि १ लाख ५० हजारको चेकसमेत हस्तान्तरण गर्नु भएको थियो ।
विशिष्ट अतिथि नेपाली कांग्रेस सभापति केशव श्रेष्ठले विद्यालयको गुणस्तर वृद्धिका लागि शुभकामना दिदैं विकट क्षेत्रमा रहेको विद्यालयले गरेको शैक्षिक प्रगतिको प्रशंसा गर्नु भयो । त्यसै सन्दर्भमा उहाँले छात्रावासमा व्यवस्थापनका लागि २ लाख ४० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि आफुले सबैसँग सहकार्य गरी अगाडि बढने प्रतिबद्धता जाहेर गनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले विद्यालयले शैक्षिक गतिविधिमा उल्लेखनिय योगदान दिएको भन्दै विद्यालयको शैक्षिक प्रगतिको खुलुर प्रशंसा गरे । साथै विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा कक्षा १०, ११ र १२ मा उत्कृष्ट हुने विद्यार्थीहरूलाई अक्ष्य कोषको रकमबाट छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै शैक्षिक सत्र २०७७ मा उत्कृष्ट हुने विद्यार्थीहरु लाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा आयोजना गरिएको सदनात्मक खेलकुदमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालयलाई उत्कृष्ट बनाउन सकृय भुमिका खेल्ने विद्यालयका शिक्षक, अभिभावक तथा दाताहरू लाई समेत सम्मान गरिएको थियो ।
शिक्षक केशव बेल्बासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक ईश्वरी पोख्रेलले गर्नु भएको थियाे ।

अन्य समाचारहरु