गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा एक दिने मुटु सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिबंगैचामा अवस्थित योगाहलमा हिजो शनिवार बिहान ७ बजे बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेसंग आफ्नो स्वास्थ्य परिक्षण गराई नगर प्रमुख कमल प्रसाद भुसालले शिविरको उद्घाटन गर्नुभएको थियो ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजना र सन्धिखर्क नगरपालिकाको आंशिक सहयोगमा सम्पन्न शिविरमा मुटु रोग सम्बन्धि समस्या भएका ८० जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराइ लाभ लिएका छन् । जसमध्ये ४१ जनाले इको जाँच र ३५ जनाले इसिजी जाँच समेत गराएको बताइएको छ । शिविरमा स्वास्थ्य जाँच गराउने मध्ये अधिकांश मुटरोग सम्बन्धि औषधि सेवन गरिरहेका तर फ्लोअपमा जान नपाएकाहरु रहेको डाक्टरको भनाइलाई उदृत गर्दै आयोजक संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ । मुटुरोग संग सम्बन्धित समस्या आइ बुटवल तथा काठमाडौंमा गइ उपचार पश्चात औषधि सेवन गरिहरका तर कोभिडको प्रभाव र आर्थिक अभावका कारण फ्लोअपमा जान नपाएका कारण शिविरमा आएर सेवा लिनुभएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेको भनाइ छ ।
८० जनाको स्वास्थ्य परिक्षण गर्दा सुगर,प्रेसर,हृदयघात भइ औषधि खाइरहेका बिरामी र सुगर प्रेसर दुवै समस्या भएका व्यक्तिहरु आउनुभएको डाक्टर बन्जाडेको भनाइ छ । व्यस्त तथा शौखिन जीवनशैली,अस्वस्थ खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै डाक्टर बन्जाडेले चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा नखान सुझाव दिनुभएको छ । यसबाहेक मुटु स्वस्थ राख्न नियामित व्यायाम गर्न,आफूलाई अल्छी नबनाउनपनि उहाँको सुझाव छ । “व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।” डाक्टर बन्जाडेले भन्नुभयो, “साना नानीहरुलाई मुटुलाई खराब गर्ने खानपान र रहनसहनबाट टाढै राख्नुपर्छ ।”
कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले महत्वपूण समयमा शिविर संचालन गरि प्रंसनिय काम गरेको भन्दै सामाजिक हितको काममा नगरपालिकाले जहिलेपनि सहयोग गर्ने बचन दिनुभएको छ । मुटु रोगको रोकथाम जरैबाट गर्न साना नानीदेखि नै राम्रो खाना, खेलकुद, फलफूल खाने, चिल्लो नखाने, नुन कम, व्यायाम, सुर्तीजन्य पदार्थ पूरा बञ्चित गर्ने, रक्तचाप, मधुमेह, वजन, मानसिक तनाव नियन्त्रणमा राख्ने, ध्यान प्राणायाम गर्ने, संगीत सुन्ने, दिक्क भएर नबस्ने, लोभ नगर्ने, ईर्ष्या नगर्ने, सबैको भलो गर्ने बानी बसालेमा मुटु रोग सँगसँगै अरु पनि धेरै रोगले सताउन सक्दैन । तसर्थ आफू र आफ्ना प्यारा परिवारका सदस्यहरु बालबच्चा र महिलाहरुलाई बचाउनु सबैको लागि अनिवार्य छ ।असल खाना खाने फलफूल, सागपात, चिल्लो, नुन कम, घरैमा बनाएका साधा खाना खाने । भुँडी फुलाएर नखाने । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।
चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ । शरिरको प्रमुख अंग मुटु सुरक्षित रहेमात्रै ज्यान स्वस्थ रहने भन्दै सचेतना अभियान संगै स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको हट फाउन्डेशन अर्घाखाँँचीले सबैको साथ पाए आगामी दिनमा कम्तिमा ३ महिनामा एक पटक ,बढिमा प्रत्येक महिनाको एकपटक शिविर संचालन गरिहरने योजना बनाएको संस्थाका सचिव मेनुका पौडेलले बताउनुभएको छ ।