अर्घाखाँचीमा अब होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय २४सै घण्टा सञ्चालन गर्न सकिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको छ । 
सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर डान्स रेस्टुरेन्ट एन्ड बार, क्लबजस्ता व्यवसाय, होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको हो । यस्तै सबैले मेनुमा निर्धारित मूल्य सूचीबाहेक थप बिलिङ र ओभर बिलिङ गरी ग्राहकलाई दुःख दिन पाइने छैन ।   
गृह मन्त्रालयले जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । 
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी, व्यवसायी र पेसाकर्मीसँग समन्वय गरी शान्तिपूर्ण र सुरक्षित ढङ्गले सञ्चालनको वातावरण मिलाउनु पर्नेछ । सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूूल नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ ।
प्रत्येक व्यवसाय प्रचलित कानुनबमोजिम आवश्यक दर्ता प्रक्रिया पूरा गरी सञ्चालन हुनुपर्ने छ । अश्लील नृत्य पूर्ण रूपमा निषेध गरी मौलिक र सीपमूलक नृत्यहरू प्रस्तुत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने मनोरञ्जन प्रदान गर्नुपर्ने छ ।    

अन्य समाचारहरु