अर्घाखाँचीमा ५ दलीय गठबन्धनले चैत ९ गते सबै पालिकाको पद बाँडफाँड गर्ने, एमालेलाई ६१ वार्डमा क्लिन स्विप

वीरेन्द्र के.सी. कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको स्थानीय तहमा एमालेलाई ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा गरेको छ । तीन गाउँ र तीन नगरसहित ६१ वडामा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको मंगलबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।
‘एमालेका उम्मेदवारलाई तीनै तहमा पराजित गर्न गठबन्धन गरेका हौं,’ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भने, ‘प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले लोकतन्त्र, संविधानभन्दा माथि गएर कदम चालेकाले एमालेलाई बहिष्कार गर्न साझा सहमति गरेका हौं ।’ एक्लाएक्लै सबै स्थानीय तहमा एमाले उम्मेदवारलाई हराउन नसक्ने ठहर गर्दै कांग्रेससहित माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जसपा एक भएका हुन् । गठबन्धनले माओवादी केन्द्रसहित साना दललाई भने फाइदा हुने बताइएको छ । ०७४ को स्थानीय तहमा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । मालारानी गाउँपालिकामा भने एमालेले गठबन्धनलाई पराजित गरेको थियो । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहितका नेता त्यतिबेला माओवादीमै थिए । नेकपा विभाजनपछि रायमाझी र चन्द्रबहादुर खड्कासहितका प्रभावशाली जिल्ला नेता एमालेतिरै छन् । पछिल्लो समय पार्टी प्रवेश कार्यक्रम लिएर रायमाझी गाउँ डुलेका छन् ।
ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी एमालेको छ । विभाजन भएर नेकपा एसतिर खासै कार्यकर्ता नलागेकाले एमाले विगतमा भन्दा थप बलियो भएको एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले बताए । ‘गठबन्धन भए पनि एमाले उम्मेदवारले सानदार रूपमा स्थानीय तहमा जित्छन्,’ उनले भने, ‘कांग्रेसले हार्ने डरले अरु दलको सहारा खोज्यो । जति दल भए पनि एमाले एक्लै भिड्न तयार छ ।’ चुनावमा एमालेलाई ‘क्लिन स्विप’ पार्छु भन्नु गठबन्धनका नेताको हतोत्साहित मानसिकता भएको उनको टिप्पणी छ । माओवादीबाट निर्वाचित भूमिकास्थान नगर प्रमुख रेशम थापा, मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् ।
गत स्थानीय तहको निर्वाचनमा मालारानी गाउँपालिकामा गठबन्धनका पदम क्षत्रीलाई एमालेका बालकृष्ण आचार्यले ९ सय ९९ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका थिए । यहाँ माओवादीबाट निर्वाचित वडाध्यक्षसहित माओवादीका कार्यकर्ता एमालेतिर लागेकाले मालारानीमा गठबन्धनलाई जित्न कठिन छ । यहाँ एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो छ ।
छत्रदेवमा कांग्रेसका लेखनाथ पोखरेल अध्यक्ष र उपाध्यक्षमा तुल्सीदेवी श्रेष्ठले जितेका थिए । पोखरेलले एमाले उम्मेदवार ऋषिराम अधिकारीलाई १ हजार १ सय २ मतान्तरले पराजित गरेका थिए । पाणिनिमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा एमालेबाट लक्ष्मी गौतमले जितेका थिए । अहिले उपाध्यक्ष कांग्रेसमा प्रवेश गरेकी छन् । भागबन्डामा छत्रदेव र पाणिनिमध्ये एउटामा अध्यक्ष माग्नुपर्ने माओवादी वृत्तमा चर्चा छ । कांग्रेस सभापति श्रेष्ठले छत्रदेव र पाणिनि कांग्रेसले नछोड्ने बताए ।
गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट सन्धिखर्क नगर प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीका ठाकुर विकले जितेका थिए । विक जिल्लामा माओवादीका शीर्ष नेतामा पर्छन् । उनी माओवादीको जिल्ला संयोजक र केन्द्रीय सदस्य हुन् । सदरमुकामको नगरपालिकामा प्रमुख पदमा माओवादीको दाबी छ । विकलाई नगर प्रमुखका रूपमा हेर्न थालिएको छ । गठबन्धनबाट शितगंगामा कांग्रेसका सूर्यप्रसाद अधिकारीले प्रमुख र माओवादीका टीका रेश्मीले उपप्रमुख जितेका थिए । यहाँ पनि माओवादीको प्रमुखमा दाबी छ । गठबन्धनबाट भूमिकास्थान नगर प्रमुख बनेका रेशम थापा अहिले एमालेमा छन् । भुमिकास्थानमा राजमोको जनाधार भएकाले प्रमुख पद आफूलाई दिनुपर्ने उसको दाबी छ ।
०७४ को चुनावको मत परिणाम अनुसार ६ स्थानीय तहमध्ये कांग्रेसले चार ठाउँमा एक्लै जित्न सक्ने दाबी गर्दै केही कांग्रेस नेता/कार्यकर्ता भने गठबन्धन गरेर कांग्रेसलाई घाटा पुग्ने भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन् । पहिलेभन्दा अहिले कांग्रेसको संगठन थप मजबुत भएकाले छत्रदेव र पाणिनिमा कांग्रेसले सहजै जित्ने, सन्धिखर्क र शितगंगा नगरपालिकामा एमालेसितको प्रतिस्पर्धामा झिनो मतान्तरमा प्रमुख/उपप्रमुख पद जित्न सकिने कांग्रेस वृत्तमा आकलन छ । भूमिकास्थानमा बलियो संगठन भए पनि राजमोले एक्लै चुनाव लड्दा केही वडा जिते पनि पालिका प्रमुख/उपप्रमुख जित्न सक्नेमा ढुक्क छैन ।
गठबन्धनपछि कांग्रेसको मतबाट पालिकामा आफ्नो प्रतिनिधित्व हुने भन्दै अन्य चार दल उत्साहित छन् । ६ पालिकाका प्रमुख/उपप्रमुख गरी १२ पद र जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख गरी १४ पदमा आफ्नो उपस्थिति हुने भन्दै साना दल खुसी छन् । ‘पालिका स्तरमा चैत ११ देखि १६ सम्म गठबन्धनका नेता पुग्छौं र एकताको सन्देश दिन्छौं,’ नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले भने, ‘पालिका र वडा तहको सदस्यसम्म गठबन्धन हुन्छ । चैत ९ मा गठबन्धनको बैठक बसेर कुन पार्टीले कुन पालिकाको कुन पद लिने छलफल गरेर टुंग्याउँछौं ।’ सबै पालिकामा पाँच दलको प्रतिनिधित्व हुने गरी पद बाँडफाँट गरिने उनले बताए ।
अहिले कांग्रेसको दुई नगरपालिकामा प्रमुख, एक नगरमा उपप्रमुख र दुई गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष छन् । दुई नगरमा माओवादीका उपप्रमुख छन् । जिल्लाका ६१ वडामध्ये एमालेका २६, कांग्रेसका २४, माओवादीका ७ र राजमोका ४ वटा वडाध्यक्ष छन् । एमालेबाट निर्वाचित मालारानी गाउँपालिका–३ का वडाध्यक्ष जीवन चौहानको निधन भएपछि उपनिर्वाचनमा कांग्रेसका शोभाखर खनालले जितेका थिए । कोरोनाका कारण एमालेबाट निर्वाचित सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको निधन भयो । माओवादीबाट निर्वाचित मालारानी गाउँपालिका–६ का वडाध्यक्ष नारायण अर्याल र शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसी अहिले एमालेमा छन् ।

अन्य समाचारहरु