अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने तयारी गरेको छ ।
एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ स्थानिय तहका पालिका प्रमुख र ६१ वार्डका वडाध्यक्षको लागि पार्टीबाट उम्मेदवार छान्ने तयारी गरेको हो । अब केही दिनमा जिल्लाभरका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, वार्डका वडाअध्यक्ष र वडासदस्य उम्मेदवारहरुको घोषणा गर्ने एमालेको तयारी छ ।
स्रोतले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार यतिबेला पार्टीबाट उम्मेदवार छान्न जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरु बीच छलफल शुरु भएको छ ।
जसमा वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार एमाले जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।
एमालेले उम्मेदवारहरुको घोषणा गरी आक्रमक चुनावी तयारी गर्ने बताएको छ ।
उता अर्घाखाँचीमा ५ दलीय गठबन्धनले एमालेलाई ६१ वार्डमा क्लिन स्विप पार्ने भन्दै चैत ९ गते सबै पालिकाको पद बाँडफाँड गर्ने तयारी गरेका छन् ।