सन्धिखर्कमा एमालेले घरदैलो चुनावी कार्यक्रम संचालन गर्ने

शोभाखर पन्थी
 
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगर कमिटीले चैत १३ गतेदेखि २५ गतेसम्म घरदैलो कार्यक्रम संचालन गर्ने भएको छ ।
 एमाले सन्धिखर्कको शुक्रबार सम्पन्न  बैठकले चैत ६ गते देखि चैत मसान्तसम्मको चुनाव केन्द्रीत कार्ययोजना बनाएको छ । 
जस अनुसार ६ गते सबै वडा कमिटीका बैठक बस्ने ,८ गते सबै टोल कमिटीका बैठक बस्ने ,९ गते देखि १२ गतेसम्म वडाहरुमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम छन् ।
बैठकले जनवर्गीय संगठनका ईन्चार्ज तोक्नुका साथै संगठन निर्माणको निम्ति विशेष योजना समेत बनाएको छ ।
बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका सामु ५ दलिय गठबन्धन टिक्न नसक्ने बताउनुभयो । सत्ता स्वार्थका निम्ति गठित गठबन्धन लाई एक्लो नेकपा एमालेले धुलो चटाउने उहाँको भनाइ थियो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जनताको बीचमा नेकपा एमाले स्थापित भएपछि ५ दलिय गठबन्धन षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । विकास र समृद्धिको निम्ति एमालेको बिकल्प नभएको भन्दै उहाँले उच्च मनोबलका साथ जनता बीच जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव कुसल भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल ,नगर ईन्चार्ज युवराज श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी लगायतका नेताहरुको  उपस्थिति रहेको कार्यक्रममा १२ वटै वडा कमिटीका अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो  । 

अन्य समाचारहरु