अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको जिल्ला स्तरिय चुनावी कार्यक्रमिक भेला सम्पन्न भएको छ ।
सन्धिखर्कमा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा आज सोमवार जिल्ला स्तरिय चुनावी कार्यक्रमिक भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी, अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले यसको विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्लाद्वारा २०७८ चैत ७ गते आयोजित जिल्ला भेलामा प्रशिक्षण दिनुहुँदै सिंहले यसपटकको चुनाव एक्लै जित्नका लागि पार्टीका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “अर्घाखाँचीमा हामीले कैयौँपटक एक्लै चुनाव जितेका छौँ ।
हामीले विचार, चेतना, राजनीति र सक्रियताले चुनाव जित्छौँ, जसको अन्य पार्टीको विजयभन्दा सयौँ गुना महत्व छ ।”
सिंहले एम.सी.सी. इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएको र अमेरिकाको दबाबमा त्यसलाई नेपालले पारित गर्नु नेपालको सार्वभौमसत्तामाथि साम्राज्यवादको खुल्ला हस्तक्षेप भएको बताउँदै त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
गणतन्त्र, र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नारासहित राजमो अर्घाखाँची जिल्ला भेला सदरमुकाम सन्धिखर्कको सङ्गम फुडल्याण्डको हलमा सम्पन्न भएको छ ।
भेलालाई प्रमुख अतिथि अखिल नेपाल किसान महा संघ अफाका केन्द्रिय अध्यक्ष भैरहव राज रेग्मीले उद्घाटनका साथै मन्तव्य राख्नुभएको थियो ।
राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा अखिल नेपाल महिला संघकि महासचिव सकुन्तला राना नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल राजमोका केन्द्रिय कोषाध्यक्ष मधु क्षेत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।