गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) अर्घाखाँचीले स्थानीय तहमा गठबन्धन गर्ने विषयमा कुनै दलसँग छलफल नभएको जनाएको छ ।
केहि सञ्चार माध्यमले केहि राष्ट्रिय जनमोर्चासँग गठबन्धन हुने र स्थानीय तह समेत वाडफाड भएको भनि समाचार आएकोमा त्यस्तो कुनै सहमति छलफल नभएको एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसासलले बताउनुभयो ।
पार्टीको तर्फबाट हालसम्म कुनै दलसंग सहकार्यको लागि छलफल नभएकाले भ्रममा नपर्न सबैलाई एमाले अर्घाखाँचीले आग्रह गरेको छ ।
६ स्थानीय तह र ६१ वडामै एमालले एक्लैले जित्ने गरि तयारी भईरहेको भुसालको भनाई रहेको छ । विगत केहि दिन देखी बुटवलमा रहनुभएका एमाले केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज चेतनारायण आचार्यले पार्टीका तर्फबाट कुनै दलसंग तालमेलबारे छलफल नभएको स्पष्ट पार्नुभभएको छ ।
उता जिल्लामा नेकपा एमालेले ५ दलिय गठबन्धन तोडिएमा राष्ट्रिय जनमाेर्चालाई सन्धिखर्क नगरपालिकाको मेयर पदसम्मको अफर गरेको समाचार संचारमाध्यममा आएको थियो ।
संचारमाध्यममा यस्तो समाचार आएको थियो :
अर्घाखाँचीमा एमालेको राष्ट्रिय जनमाेर्चालाई अफर, आफुलाई सघाए सन्धिखर्कको मेयर दिन तयार
अर्घाखाँची जिल्लामा नेकपा एमालेले ५ दलिय गठबन्धन तोडिएमा राष्ट्रिय जनमाेर्चालाई सन्धिखर्क नगरपालिकाको मेयर पदसम्मको अफर गरेको छ ।
५ दलिय गठबन्धनको दोस्रो ठुलो दल राष्ट्रिय जनमाेर्चाले गठबन्धन तोडी आफुलाई सघाए सन्धिखर्क नगरपालिकाको मेयर पदसम्मको अफर गरेको हो ।
एमाले जिल्ला कमिटीका एक सदस्यले नाम नलेख्ने सर्तमा भने; “राष्ट्रिय जनमाेर्चाले गठबन्धन तोडी आफुलाई सघाए सन्धिखर्क नगरपालिकाको मेयर पद दिन सकिन्छ। भूमिकास्थान नगरपालिकामा भने माओवादी केन्द्रबाट आएका मेयर रेशम थापालाई नै दिने सर्तमा सहमती गर्न सकिन्छ ।”
उनले भने; 2भूमिकास्थान रेशम ज्यु माओवादी पार्टी नै छोडेर एमालेमा हुनुहुन्छ, उहाको त्याग छ । भूमिकास्थानमा राष्ट्रिय जनमाेर्चाको जनमत राम्रो छ, मेयरका साथै ढिकुरा, धनचौर वार्ड एमालेलाई, अरु उपमेयर र बाँकी सबै वार्ड दिन सकिन्छ । सन्धिखर्कमा मेयर सहित वार्ड २, किमडाँडा ८, वार्ड ७ खाँचीकोट र मालारानीमा उपप्रमुख र हंसपुर दिन सकिन्छ ।”
“यसको बारेमा अहिलेसम्म राष्ट्रिय जनमाेर्चासँग कुनै कुरा छलफल नभएको तर जिल्लाभर एमालेलाई सघाए हामीले पनि सन्धिखर्कको मेयर पदसम्म दिन सकिन्छ, अरु पार्टीका कुरा के गर्ने माओवादी केन्द्रका टोप बहादुर, चन्द्र बहादुर सबै जनमत हामीसँग नै हुनुहुन्छ, एकीकृत समाजवादी भन्नेमा २,४ जना त हुन्; उनले भने।”
उता जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखे पनि अहिलेसम्म सहमतीमा पुग्न सकेका छैनन् । राष्ट्रिय जनमाेर्चाले भूमिकास्थान नगरपालिकामा मेयर, सन्धिखर्कमा उपमेयर र मालारानीमा उपप्रमुख दावी गर्दै आएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।