भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची । पछिल्लो नौ महिनामा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले करिब २५ लाख बराबरको राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका अनुसार चालु आर्थिक बर्ष २०७८/०७९ को श्रावण मसान्तदेखी चैत्र मसान्त सम्ममा ४ हजार ५० वटा सवारीसाधन कारवाहि मार्फत २४ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
यो अवधिमा २ वटा बस, ६ वटा जिपकार, ३ वटा ट्याक्टर र ७ वटा मोटरसाईकल गरी १३ सवारी दुर्घटना भएका छन । दुर्घटना परी ४ जना पुरुष, १ बालक र २ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते र ३३ साधारण घाइते भएको छ ।
जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ७९ सवारीसाधन कारवाहि बापत ३९ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । सो अवधिमा २८ दुर्घटना भएका थिए । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने २२ जना गम्भीर र २३ जना सामान्य घाईते भएका थिए ।
ट्राफिक नियम उलंघन गर्ने जस्तैः मादक पदार्थ सेवन गरि सवारी चलाउने, लाइसेन्स विना सवारी चलाउने, हेल्मेट नलगाउने लगायतलाई कारवाहि गरीएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव निरीक्षक हरी बहादुर केशीले जानकारी दिए ।