अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धन दलहरु मध्येको सबैभन्दा सानो दल एकीकृत समाजवादीले भागबण्डा नमिलेपछि बाहिरिएको छ ।
दलहरु लगातार छलफल गर्दा पनि आ–आफ्नो दाबीबाट पछि नहटेपछि एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिँदै चुनावमा होमिन कार्यकर्तालाई आह्वान गरेको हो ।
जिल्ला अध्यक्ष रामबहादुर चौहानले पाँच दलीय सहकार्य क्षीण हुँदै गएको अवस्थामा एकल रुपमा चुनावी प्रतिस्पर्धामा होमिनु परेको जनाएका छन्।
उनले सबै उम्मेदवार सिफारिस गर्न बिहीबार जिल्ला कमिटिको आकस्मिक बैठक बोलाएका छन्। शितगंगा नगरपालिकामा उपमेर नपाउने देखेपछि समाजवादीले छुट्टै चुनाव लड्ने बटाएको छ ।
उता एकीकृत समाजवादी बाहिरिए ४ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखेका छन् । ४ दलिय गठबन्धन दलहरुले वार्डहरुमा नमिलेको हो अरु मिलेको छ बताएका छन् ।
गत हप्तादेखि जारी बैठकमा गठबन्धन दलहरु स्थानिय तहमा भागबन्डाको सहमती नजिक पुगेका छन् । संभवत आज साँझसम्म सहमतीमा पुग्ने गरी वार्ता- छलफललाई तिव्रता दिईने दलहरुले बताएका छन् ।
उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन बैशाख ११ र १२ गते नजिकिदै गर्दा गठबन्धन दलहरु १,२ दिनमा नै सहमती पुग्ने दवावमा छन् । अहिलेसम्म ५ दलिय गठबन्धन दलहरु मिलेरै जानुपर्छ भन्ने पक्षमा रहेको बताईएको छ । अबको केही घण्टामा भागबन्डा सहमती सार्वजनिक गर्ने दावी दलहरुको रहेको छ ।
निरन्तर जारी बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दक खड्का सहभागी छन् ।
गठबन्धनमा कांग्रेसलाई चार तथा राष्ट्रिय जनर्मार्चा र माओवादीलाई एक – एक पालिका दिने मोटामोटी सहमति भएको स्रोतले बतायो ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।
यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले तीन वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । तीन पालिकामा भने आकांक्षी धेरै भएकाले सिफारिस गरिएको छ ।
कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका रहेका छन् । जिल्लामा ६१ वटा वडाहरू रहेका छन् ।