प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको हो। जिल्ला अस्पतालमा एक कार्यक्रमकाबीच पिपिई सेट, मास्क, आई ग्लास, स्यानीटाइजर, फेस सिल्ड, गगल्स, ओटी गनलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा डाक्टर जय बहादुर टण्डन, डाक्टर मुक्ति श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डाक्टर राजेन्द्र जिसि, डाक्टर राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु प्रसाद भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लिलाराम गौतम, प्रकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
यसअघि संस्थाले श्वासप्रश्वास प्रकृयामा अक्सिजनको कमीबाट हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको थियो। जिल्लाको सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी, मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनी गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी र पटौटी स्वास्थ्य चौकीमा एकएक वटा कन्सल्ट्रेटर मेसिनसहित स्वास्थ्य सामाग्री प्रदान गरेको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डाक्टर जयबहादुर टण्डनले बताए।
अर्घा, खिल्जी, अड्गुरी, पाली र पटौटी स्वास्थ्य चौकीमा कन्सल्ट्रेटर मेसिनसहित पल्स अक्सिजन मिटर तथा मास्कहरु प्रदान गरिएको अध्यक्ष टण्डनको भनाइ छ।
आफूहरुले विभिन्न सहयोगी हातहरुसँगको सहकार्यमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोभिड तथा अन्य महामारीबाट बच्न विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले बताएका छन्। डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा यसअघि नै विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेका छन्।