अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा मतदान गराउने जिम्मेवारी पाएका अधिकारीहरुले भोलि मतदान सामग्री बुझेर लग्ने भएका छन्।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले भोलि जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लैजान भएका हुन् ।
६ स्थानिय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले मतपत्र सहितका सामग्री बुझेर समय तोकिएको छ । भोलि मतदान सामग्री बुझाउने तयारी भइरहेको छ ।
टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानहरूलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मास्क, स्यानीटाइजरदेखि सियो र प्लाष्टिकसम्म
मतदान अधिकृतहरुले यो बर्ष ७१ वटा सम्म निर्वाचन सामग्री बुझेर लैजानुपर्ने हुन्छ। हेर्दा र सुन्दा सानो तर महत्वपूर्ण ठानिएका सामग्रीहरु निर्वाचनका क्रममा प्रयोग हुनेछन्। यो बर्षका स्थानीय तहको निर्वाचनमा अघिल्ला निर्वाचनहरुभन्दा बढी मास्क र स्यानीटाइजर थपिएका छन्।
बर्षाको समय भएकोले मतपेटिका जोगाउन र सुरक्षित ढंगले सम्वन्धित निर्वाचन अधिकृतको कार्यालय सम्म पुर्याउन प्लाष्टिक समेतको प्रवन्ध गरिएको निर्वाचन कार्यालयले जनाएको छ। धेरै जिल्लाहरुमा निर्वाचन आयोगले ५५ किसिमका सामग्री आफैं पठाएको छ भने बाँकी सामग्री सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले समेत व्यवस्थापन गर्ने छ।
यी चुनावी सामग्री मतदान केन्द्रदेखि मतगणनासम्म प्रयोगमा आउन सक्छन्। धेरै मतदान केन्द्रमा र केही सामग्री मतगणनामा समेत प्रयोग हुने अवस्था हुन सक्छ। सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटोसहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज र फोटोकपी पेपर लगायतका सामग्री चुनावमा प्रयोगमा आउने सामान्य सामग्री हुन्।