अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको छ ।
जिल्लाभर भोली शुक्रवार स्थानीय तह निर्वाचन पछि गरिने मतगणनाको तयारीका लागि हलमा आवश्यक प्रबन्धहरू गरिएको छ ।
जिल्लाका ६ पालिकाका मतगणनास्थललाई फलामका डण्डी गाडेर जालीले घेरिएको छ। गणनास्थलमा सिसिटिभी जडान गरिएको छ। गणनास्थल सुरक्षित बनाउन लागिएको छ।
सिसिटिभी जडानको काम र तार जाली लगाउने काम सकिएको छ ।
उता जिल्लामा स्थानीय तह निर्वाचन २०७९ का लागि ६१ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये २१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थिका अनुसार ३५ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पन्थि बताउछन् ।
पालिका निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीमा एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदात छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।
जिल्लाभर स्थानीय तह निर्वाचको लागि भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।