अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि मतदान शुरु भएको छ ।
जिल्लाभर ९६ वटा मतदान स्थलहरुमा स्थानीय तह निर्वाचको लागि आज शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।
निर्वाचन शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्न सुरक्षाकर्मी , पत्रकार , बुद्दिजिवी , स्थानिय , समाजसेवी सबैले आ-आफ्नो तवरले सहयोग गर्नुहुन समेत जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सबैमा अपिल गरेको छ ।
निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको दिन मतदानस्थल भित्र मोबाइल, क्यामेरा , चुनाव चिन्ह अंकित लोगो , लगायतका सामग्री हरु लैजान नमिल्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले बताएको छ । जिल्लाभर एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।
उता जिल्लाभर आज शुक्रवार स्थानीय तह निर्वाचन पछि गरिने मतगणनाको तयारीका लागि हलमा आवश्यक प्रबन्धहरू पुरा गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना शुरु गरिने छ । मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
जिल्लाका ६ स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।