सन्धिखर्क । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले पदबाट राजीनामा दिएका छन् । आफ्नो गृहजिल्ला अर्घाखाँचीमा आफ्नो पार्टी नेपाली काँग्रेसले अपेक्षाकृत जीत हात नपारेपछि उनले नैतिकताको आधारमा सहमहामन्त्री पदबाट राजीनामा गरेका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा जितेका पालिका पनि गुमाउने स्थितीमा काँग्रेस छ । त्यतिबेला जितेको पाणिनी गाउँपालिका प्यानल नै हारेको छ । जिल्ला सदरमुकार सन्दीखर्क नगरपालिका पनि फराकिलो मतान्तरमा काँग्रेस पछाडी छ ।
पाणिनि गाउँपालिका अध्यक्षमा कांग्रेस जिल्ला सचिव अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतम पराजित भएका छन् । अरु ५ स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार फराकिलो मतान्तरले पछाडि परिरहेको बेला अन्तिम मतपरिणाम नआउँदै खनालको राजीनामा आएको हो । उनले नैतिकताको आधारमा आफूले पदबाट राजीनामा दिएको बताए ।
२०७४ को स्थानीय तहमा जिल्लाका ६ स्थानीय तहमध्ये ४ पालिकामा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । त्यसमध्ये पाणिनि गाउँपालिकामा कांग्रेसका अच्युत गौतमले अध्यक्ष पदमा एक्लै चुनाव जितेका थिए । ०७४ मा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित लक्ष्मी केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनैलाई पुनः उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार बनाएको थियो । छत्रदेव गाउँपालिकामा कांग्रेसका लेखनाथ पोखरेल अध्यक्षमा र तुल्सीदेवी श्रेष्ठ उपाध्यक्षमा जितेका थिए । अहिले ५ दलीय गठबन्धन हुँदा पनि पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवारले निरन्तर अग्रता लिएका छन् ।
गत चुनावमा कांग्रेसबाट सन्धिखर्क प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले जितेका थिए । अहिले कांग्रेस उम्मेदवार शान्ता भण्डारीलाई एमाले उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले फराकिले मतान्तरले पछाडि पारेका छन् ।
०७४ को चुनावमा शितगंगा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यप्रसाद अधिकारीले जितेका थिए । अहिले ५ दलीय गठबन्धनलाई एमाले उम्मेदवार वसन्त श्रेष्ठले फराकिलो मतान्तरले पछाडि पारेका छन् ।