श्याम घिमिरे
जेठ १३ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सञ्चार क्षेत्र मानबको तेस्रो आँखा भएकोले सत्य, तथ्य,निश्पक्ष र विश्वसनिय समाचार सम्प्रेसण गर्नुपर्ने बताउनु भएको छ ।
सन्धिखर्कमा रहेको नयाँ एफ.एम ८७.६ मेगाहर्जको १२ औं स्थापना दिवसको अबसरमा रेडियोले सुक्रवार बिहान आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे श्रेष्ठले यस्तो बताउनु भएको हो । नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले सुचना दिने होडबाजीमा हतार गरी अधुरो र अपुरो समाचार दिन नहुने भन्दै सञ्चारकर्मीले समाजमा सही सुचना सम्प्रेषण गरी तेस्रो आँखाँको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे, मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायत सञ्चारकर्मी र रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
दिवसको अवसरमा रेडियोले स्थानिय तहको निर्वाचन २०७९ बाट निर्वाचित जिल्ला ६ वटै पालीकाका प्रमुख,अध्यक्ष,उपप्रमुख, उपाध्यक्ष र रेडियोका पुर्व कर्मचारीहरुलाईसम्मान गरेको थियो । कार्यक्रम नयाँ एफएमका स्टेशन मेनेजर हरीप्रसाद भुसालको अध्यक्षता, सन्ध्या नेपालीको स्वागत मन्तव्य र सरु सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।