सरकारले आर्थिक वर्ष (आव) २०७९/ ८० को बजेट आइतवार अपारन्ह चार बजे सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०७९/ ८० को बजेट आइतवार अपारन्ह चार बजे सार्वजनिक गर्दैछ ।
अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ ।  
जेठ १५ गते  नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक  व्यवस्था छ ।  आगामी आवका लागि सरकारले १७ खर्ब रुपैयाँ बराबरको आयव्यय विवरण पेश गर्ने तयारी गरेको छ ।
     
 चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो । वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो ।     
     
 शनिवार मात्रै प्रतिनिधि सभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि शनिवार नै सार्वजनिक भएको गरिएको छ ।     
     आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।     
बजेट आगामी निर्वाचन लक्षित हुने छ । ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी- व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब- भत्ता वृद्धि, कर छूट, राहत, अनुदानलगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बताएको छ।
सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाएर बजेट तयार पारेको स्रोतको दाबी छ ।स्रोतका अनुसार बजेटमा ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी छ। वृद्धभत्ता भने सामान्य बढ्न सक्छ । निजामती कर्मचारीहरुको तलब पनि बढाउने तयारी छ । 
विदेशी मुद्राको सञ्चिति ओरालो लाग्दै गएका सन्दर्भमा आगामी आवको बजेटमार्फत धेरै विषयमा सम्बोधन गर्नुपर्ने माग चौतर्फीरुपमा उठेको छ ।     
     
 औद्योगिक वातावरण तयार पार्ने, कृषि क्षेत्रको विकास र उन्नयनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थमन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।     
स्रोतका अनुसार आन्तरिक खपतका लागि पैठारी नगरे पनि हुने केही वस्तुमा करको दर वृद्धि, करको दायरा विस्तारलगायतका विषयलाई पनि बजेटले सम्बोधन गर्नेछ ।