अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) जिल्ला कमिटी , अर्घाखाँचीको तेस्रो पूर्ण बैठक जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ सम्पन्न भएको छ ।
बैठकमा जिल्लास्थित ६ वटै पालिकाका इन्चार्ज र अध्यक्ष कमरेडहरुले हालै सम्पन्न स्थानीय निर्वाचन र आगामी दिनमा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिको सन्दर्भमा आ- आफ्नो पालिकाको तर्फबाट समिक्षात्मक प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठककले नेकपा ( एकीकृत समाजवादी ) लगायत अन्य राजनीतिक दलहरुको तर्फबाट हालै सम्पन्न स्थानीय निर्वाचनमा बिजय हासिल गर्नुहुने सम्पूर्ण जनप्रतिनिधिज्युहरुलाई हार्दिक बधाई र उत्कृष्ट कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।
साथै बैठकले साक्षात भगवानको रुपमा रहनु भएका आम मतदाता , पार्टीका सम्पूर्ण नेता , कार्यकर्ता , सुभेच्छुक तथा शुभचिन्तक ; निर्वाचन सम्पन्न गराउन अहोरात्र खट्नुहुने राष्ट्रसेवक कर्मचारी ; सुरक्षाकर्मी ; शिक्षक ; नागरिक समाज र सन्चारकर्मीज्युहरुप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ ।
बैठकले स्थानीय निर्वाचनमा घाइते हुनुभएका पार्टीका नेता , कार्यकर्ता , शुभेच्छुक र शुभचिन्तकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडकहरुमाथि तत्काल कार्वाही प्रक्रिया अघि बढाउन सम्बद्ध सरोकारवाला निकायहरु समक्ष जोडदार माग समेत गरेको छ ।
बैठकले अध्यक्ष राम बहादुर चौहानद्वारा प्रस्तुत आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति , संगठन निर्माण , बिस्तार र सुदृढीकरण सम्बन्धि एक महिने कार्ययोजना सर्वसम्मत ढङ्गले पारित गरेको छ ।
सरकारद्वारा हालै गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण जनताको दैनिक जीवनका हरेक क्षेत्रमा महँगी आकाशिएकोले तत्काल मुल्यवृद्धी फिर्ता लिई जनजीवनलाई सहज तुल्याउन बैठकले नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ ।
बैठकमा पार्टी केन्द्रिय कमिटीका सदस्य एवम् जिल्ला इन्चार्ज कमरेड पिताम्बर भुसाल , केन्द्रिय सदस्य एवं जिल्ला सह – इन्चार्जद्वय पिताम्बर सारु र यमुना भुसाल , प्रदेश कमिटीका सदस्यद्वय सुनिता बेल्बासे र तारापती भट्टराई , जिल्ला कमिटीका उपाध्यक्षद्वय सिद्धी प्रसाद भुसाल र सुमित्रा मुखिया , जिल्ला कमिटीका सचिब युबराज पौडेल , उपसचिवद्वय हृदय कुमार भुसाल र नारायण शर्मा , कार्यालय सचिव नारायण भुसाल साथै पार्टीको तर्फबाट स्थानीय निर्वाचनमा बिजेता तथा उपविजेताहरुले आ- आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।