अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको ठहर: गठबन्धनबाहिरका दलसँग कांग्रेस–माओवादीको तालमेलले क्षति

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पाँचदलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले गठबन्धनबाहिरका दलसँग अश्वाभाविक र असैद्धान्तिक तालमेल गरेको निष्कर्ष निकालेको छ ।
हालै सम्पन्न राजमो जिल्ला समितिको बैठकले गठबन्धनभित्रका दलहरुले एमालेसँग तालमेल गर्दा प्रतिगमनविरोधी आन्दोलनलाई क्षति पुगेको ठहर गरेको छ ।
अध्यक्ष थम्मन केसीले सोमबार विज्ञप्ति जारी गरी ‘हाम्रो पार्टी अर्घाखाँचीले यो निर्वाचनमा अपेक्षा गरेजस्तो उपलब्धी हासिल गर्न नसक्नु मुख्य गरेर गठबन्धनभित्र रहेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन भन्दा बाहिरी शक्तिहरुसँग अस्वाभाविक तालमेल गरि गठबन्धनको सैद्धान्तिक मान्यता विपरित जानु नै मुख्य कारण हो’ भन्नुभएको छ ।
‘यसले मुख्य गरेर प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा यस्ता क्रियाकलापहरुलाई सच्चाई मुलकको राष्ट्रियता, गणतन्त्र स्वाधिनता बचाई मुलुकको परिवर्तनको लागि संघर्ष गर्न सम्पूर्ण जनसमुदायहरुलाई हार्दिक अपिल गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ता, समर्थक, मतदाता सबैलाई धन्यवाद पनि दिएको छ । यस्तै, बैठकले मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारसँग माग गरेको छ ।
अर्घाखाँचीमा राजमोले भूमिकास्थान नगरपालिका प्रमुखसहित विभिन्न स्थानमा जित हासिल गरेको छ ।

अन्य समाचारहरु