लक्ष्मण घिमिरे
अर्घाखाँची । स्थानियतहको निर्वाचन सकिएपछी अब प्रदेश तथा संघको निर्वाचन चर्चा सुरु भएको छ । केन्द्रिय स्तरका नेता तथा सांसदहरुले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका स्थानिय नेता, कार्यकर्तालाई निर्देशन दिन थालेका छन् ।
एमाले विरुद्ध देशैभर गठबन्धन गरेको कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा लगायतका दलले आफ्ना विचार परिवर्तन गर्न थालेका छन् । कांग्रेस र माओवादीलाई गठबन्धनले फाईदा गरेपनी अन्य दललाई सन्तोष लिने ठाउँ बनेन । सार्वजनिक भाषण तथा मन्तव्यमा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी लगायतले असन्तुष्टी पोख्दै आएका छन् । माओवादी पनी निर्वाचन परिणामले खासै सन्तुष्ट देखिदैन । फेरी एकपटक बाम एकताका स्वरहरु पनी गुञ्जिन थालेका छन् । एमाले अध्यक्ष ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठ बिचको भेटवार्ताले यती बेला तरङ्ग ल्याएको छ । कम्युनिष्टहरु एकै ठाउँमा उभिने संकेतले देशमा नयाँ समिकरण बन्ने संभावना पनी बढेको छ । देशले फेरी एक पटक नयाँ प्रधानमन्त्री पाउने लक्षण देखिएको छ भन्दा अन्यथा नहोला ।
अर्घाखाँची जिल्लाको संदर्भमा गठबन्धन सफलता उन्मुख हुन सकेन । भएको विरासत र कांग्रेसका गढ मानिएका क्षेत्र एमालेले क्षतविच्छेद बनाईदियो । एमालेलाई पत्तासाफ बनाउने गठबन्धनको योजना विफल भएको छ । गठबन्धनले सिमित ठाउँमा (लज्जास्पद जित) मात्र निकाल्न सक्यो । अहिले एकअर्का प्रती आरोप प्रत्यारोपमा गठबन्धन व्यस्त छ । उद्योग बाणिज्य संघको निर्वाचनमा गठबन्धन तोडेर एमाले संग मिलेको राष्ट्रिय जनमोर्चाले सोमवार विज्ञप्ती प्रकाशित गर्यो । जिल्ला अध्यक्ष थम्मन केसीले जारी गरेको विज्ञप्तीमा स्थानियतहको निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुका पछाडी कांग्रेस र माओवादी जिम्मेवार रहेको आरोप लगाएको छ । माओवादी र कांग्रेस पनी अहिले हारका कारण केलाउन तथा आरोप प्रत्यारोपमै व्यस्त देखिन्छ ।
देशको दलिय ध्रुविकरण कता जाने हो ? निश्चित छैन र पनी संघ तथा प्रदेश निर्वाचनको तयारीमा दलहरु जुट्न थालेका छन् । उम्मेद्वारका प्रत्यासीहरु काठमाण्डौ धाउन थालिसकेका छन् । नेकपा एमाले बाट केन्द्रिय सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझी निर्विकल्प उम्मेद्वार बन्ने देखिन्छ । माओवादी छोडेर एमाले रोजेका रायमाझीले स्थानियतह निर्वाचन परिणामले अध्यक्ष ओली र केन्द्रिय नेताहरुलाई रिझाएका छन् । एमाले नेता चेतनारायण आचार्य, रामजी घिमिरेले यथावत् स्थान (प्रदेश सांसद) मै ईच्छा देखाएकाले संघिय सांसदमा टोपबहादुर रायमाझी नै पक्कापक्की जस्तै भएको एमाले नेताहरुले बताउने गरेका छन् ।
एमाले नेताहरुका अनुसार संघिय सांसदमा टोपबहादुर रायमाझी, राष्ट्रियसभामा चन्द्रबहादुर खड्का, प्रदेशसभा ‘क’ मा चेतनारायण आचार्य, प्रदेशसभा ‘ख’ मा रामजी प्रसाद घिमिरे यथावत् स्थानमा प्रतिस्पर्धा गर्न सक्नेछन् । यद्दपी निर्वाचनको मिती नै घोंषणा नभएको अवस्थामा यस्ता खालका बहस अझै हतारो हुने उनीहरुको भनाई छ ।
नेपाली कांग्रेसमा आकांक्षीहरु धेरै छन् । कांग्रेस केन्द्रिय सदस्य तथा संघिय सांसद पुष्पा भुसाल, पुर्वमन्त्री रेवती प्रसाद भुसाल, नेता डा. राम बहादुर बिसी, पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, बिष्णु मुस्कान, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेलले समेत आकांक्षा देखाएका छन् । प्रतिस्पर्धी धेरै हुने भएपछी पार्टी भित्र अन्यौलता सृजना भएको छ । उम्मेद्वार छिटो टुङगाउन नसक्दा स्थानिय निर्वाचनमा नराम्रो हार व्यहोरेको कांग्रेसले प्रदेश तथा संघको निर्वाचनमा कस्तो निती अपनाउँछ त्यो हेर्न बाँकी नै छ ।
पुष्पा भुसाल:- नेपाली कांग्रेसकी प्रभावशाली नेतृ भुसाल संघिय सांसदकी सशक्त दावेदार हुन् । देउवा संग निकट मानिएकी भुसालले सांसदमा लड्ने ईच्छा व्यक्त गरे उनले टिकट पाउने निश्चितप्राय: छ । उनले जित्दा पार्टी सरकारमा नहुने, उनले हार्दा पार्टी सरकारमा जाने ‘ब्याड-लक’ का कारण उनी हालसम्म मन्त्री बन्ने अवसर बाट बञ्चित छिन् । बेला बेला मन्त्री बन्ने चर्चा भएपनी उनी हालसम्म सांसद मात्र छिन् ।
रेवती भुसाल:- नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत भएका पुर्वमन्त्री भुसाल आगामी निर्वाचनमा संघिय सांसदका दावेदार हुन् । राजनितिमा निरन्तर क्रियाशिल रहेका भुसालले संघिय निर्वाचनमा आफुलाई उभ्याउने मनस्थितीमा छन् । उनी रामचन्द्र पौडेल निकट मानिन्छन् ।
डा. राम बहादुर बिसी:- २०७० र २०७४ को निर्वाचनमा टोपबहादुर रायमाझीसंग प्रतिस्पर्धा गरेका बिसीले आउँदो निर्वाचनमा समेत निर्वाचन लड्ने मनस्थिती बनाएका छन् । काठमाण्डौमा चिकित्सक पेशामा रहँदा अर्घाखाँचीका जनताको सेवामा समर्पित डा. बिसी जनता माझ लोकप्रिय छन् । तर, पटक पटकको हारले कार्यकर्ता तथा सुभेच्छुकहरुमा निराशा पैदा भएको देखिन्छ ।
कमल प्रसाद भुसाल:- नेपाली कांग्रेसका लोकप्रिय नेताका रुपमा परिचित कांग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापती भुसाल केन्द्रिय सांसदमा जाने मनस्थितीमा छन् । सन्धिखर्कको मेयरमा दोहोरिन चाहेका भुसालले टिकट नपाएपछी उनी संघिय सांसदमा फड्को मार्ने सोंचमा छन् ।
बिष्णु मुस्कान:- कांग्रेसका निवर्तमान सभापती बिष्णु प्रसाद खनाल मुस्कान गत २०७४ सालको निर्वाचनमा प्रदेशसभा क बाट प्रदेश सांसदका उम्मेद्वार बनेका थिए । यसपाली केन्द्रिय सांसद लड्ने उनको दाउ रहेको छ । सरल र त्यागी नेताका रुपमा परिचित मुस्कान पछिल्लो समय उम्मेद्वार विवादमा परेका छन् ।
लेखनाथ पोख्रेल:- पोख्रेल हाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी हुन् । कांग्रेस केन्द्रिय सदस्यमा पराजित भएका पोख्रेल अर्घाखाँचीमा भने लोकप्रिय छन् । चतुर युवा नेताका रुपमा चिनिने पोख्रेलले अवसर आउँदा आफुलाई प्रमाणित गरेर देखाएका छन् । टोपबहादुर रायमाझीको विकल्पका रुपमा उनलाई चित्रण गर्न थालिएको छ ।
टोपबहादुरको विकल्प वा प्रतिस्पर्धी को ?
अर्घाखाँचीमा टोपबहादुर रायमाझी लोकप्रिय छन् । एमालेका केन्द्रिय सचिव तथा देशकै चर्चित नेताका रुपमा स्थापित नेता रायमाझीको प्रतिस्पर्धा कसैसंग नहुने एमालेले दावी गर्दै आएको छ । तर, चुनावी प्रतिस्पर्धीमा दावीको कुनै अर्थ रहँदैन । अन्य प्रतिस्पर्धी नभएकाले पनी टोपबहादुर लाई सजिलो भएको हो । कांग्रेस र माओवादीका युवा पंक्तीले अब टोपबहादुरको विकल्पमा नयाँपुस्ता बाट उम्मेद्वारी दिनुपर्ने बहस उठाउन थालेका छन् । युवा र आशलाग्दो उम्मेद्वार खडा गर्न नसके टोपबहादुर लाई हराउन नसक्ने उनिहरुको निष्कर्ष छ । कांग्रेसमा युवा उम्मेद्वार लेखनाथ पोख्रेलको चर्चा चल्न थालेको छ । सांसद पद कुनै सम्मानित नभएर काम गर्ने थलो भएकाले काम गर्न सक्ने उम्मेद्वार ल्याउनु पर्ने हुन्छ । त्याग, मेहनत, समर्पण गरेका नेताहरुलाई अन्यत्र व्यवस्थापन गरेर युवालाई संघिय निर्वाचनमा उम्मेद्वार बनाउँदा कांग्रेसलाई फाईदा पुग्ने देखिन्छ ।
पार्टीलाई संसदमा बलियो बनाउने सांसदको टाउकोले नै हो । अंक गणितमा सांसदका टाउकाको महत्व हुने भएकाले अर्घाखाँचीमा एमाले वा कांग्रेसले उम्मेद्वारी उठाउँदा कुनै ‘कम्प्रमाईज’ गर्ने छैनन् । कांग्रेस गुटगत स्वार्थमा नफसी बलियो उम्मेद्वार उठाउनमा केन्द्रित भयो भने एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लामा एमाले हाल एकढिक्का छ । कांग्रेस भित्र विगतमा जस्तै प्रवृत्ती दाहोरिने हो भने त्यो एमाले वा टोपबहादुर लाई ‘प्लस प्वाईन्ट’ हुनेछ ।