काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिए ।
आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यले बताए ।
उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारको उच्च स्तरीय टोलीलाई भोलि भेट्ने समय मागेका छौं । भोलि भेटेर मंसिर २ वा ५ गतेमध्ये एक दिन निर्वाचन गर्नका लागि ५ पन्नासहितको सिफारिस सरकारलाई बुझाउने तयारी छ ।’
छिटफुट घटना बाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेको हो ।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।