कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।
जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने दुईवटा बाटो छन् ।
कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् । जलचर प्राणीले नेपालतर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारततर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो ।
उहाँले हाल डल्फिन, माछा, घडियाल गोहीलगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको उहाँले बताउनुभयो ।
४०/५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन् ।
निर्माण भएको एक/दुई वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन् । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए ।
जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन् । डल्फिन जाडोमा तल्लो भूभागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भूभागमा जाने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो ।
उहाँले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिनुभयो ।
फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोशी पार गर्नसक्ने तथा डल्फिन र माछाको सङ्ख्या बढ्ने उहाँले जानकारी दिनुभयो । नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द छ । गोरखापत्रमा समाचार छ ।