श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू जारी।

काठमाडौं । श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू अन्तर्गतका नियमलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् ।
त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । कर्फ्यू आदेश लागू भएका क्षेत्रमा हिँड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै राजीनामाको माग गर्दै विरोध प्रदर्शन हुन लागेको हो ।
श्रीलंकाको गिर्जाघरले भने राष्ट्रपति राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य वृद्धि न्युनिकरण गर्न नसकेकाले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ । दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ । –   एजेन्सी।