अर्घाखाची डट्कम –
भोलि शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।
जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।
भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित एमाले सांसद हुन्। उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।
यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।
भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताइन्।
उनले आफ्नो भूमिका संवैधानिक परिषदमा पनि हुने उल्लेख गर्दै सो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
‘संविधान कार्यान्वयनको विषयमा संसदको प्रभावकारी भूमिका निभाउन अगाडि बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु’, उनले भनिन्, ‘संवैधानिक परिषदमा जुन भूमिकाको अपेक्षा गरेको छ संविधानले त्यो अनुसार आफ्नो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनिन्।
‘प्रतिनिधि सभाको उपसभामुख भन्ने बित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडि बढाउन एउटा खालको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ’, उनले अगाडि भनिन्, ‘सदन र मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउन सहयोगहरु गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ।’
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताइन्।
उनले उपसभामुख निर्वाचित हुन पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताइन्।
‘उपसभामुख पद भनेको संसदको एउटा महत्वपूर्ण पद हो । त्यहाँ पार्टीको कुराले मात्रै निश्चित गर्छ जस्तो मलाई लाग्दैन। उपसभामुख पदका लागि अरु धेरै मापदण्डहरु पनि हुन्छन् । त्यो मापदण्ड मिट गर्ने हिसावले पार्टीले जुन ढंगले उम्मेदवारी दिने फैसला गरेको छ, त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु’, उनले भनिन्, ‘कहिलेकाहीँ तपाईँले जुन गणितीय कुरा देख्नुहुन्छ, गणितीय कुराहरु पनि प्रक्रियाहरुले अवरुद्ध गर्न पनि सक्छन्। जुन कुरा हुनेछ कि भन्ने मैले ठानेको छु।’
उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।
संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ।
प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।