अर्घाखाची डट्कम ।
काठमाडौ- प्रजातन्त्रवादी प्राध्यापक संघ, कीर्तिपुरको आयोजनामा ‘बहुआयामिक व्यक्तित्व बीपी’ विषयक विचारगोष्ठी आयोजना गरिएको छ।
जननायक बीपी कोइरालाको ४० औँ स्मृति दिवसका सन्दर्भमा शुक्रबार त्रि.वि.कीर्तिपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले कोइरालाको राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वमाथि उजागर गरेका थिए।
प्रा.डा. बद्रीनारायण गौतमले ‘क्रान्तिकारी ऐतिहासिक पृष्ठभूमिमा बीपी’ विषयका धारणा व्यक्त गर्दै समाज परिवर्तनका लागि बीपीले दिएको योगदानबारे चर्चा गरेका थिए। यस सम्बन्धमा उनले तत्कालीन युवराज महेन्द्र र रत्नको विवाहका सन्दर्भमा बीपीले खेलेको भूमिकाबारे उल्लेख गरेका थिए।
गौतमका अनुसार तत्कालीन युवराज महेन्द्रले मन पराएकी रत्नलाई राजा त्रिभुवनले कुनै पनि हालतमा विवाह गर्न सकिँदैन भनेर महेन्द्रलाई अवरोध गर्न खोजेका थिए। गौतमले भने, ‘बीपीले हामीले लडेको लोकतन्त्रमा आफूले मन पराएकी युवतीसँग विवाह गर्न नपाउने हुन्छ? म मिलाउँछु भनेर महेन्द्रसँग कुरा गरेका थिए।’
पछि महेन्द्रले सत्ता ढाल्ने रणनीतिमा दरबारसँग नजिक हुनाका निमित्त मात्रै बीपीले आफ्नो प्रेममा सहानुभूति प्रकट गर्न आएको भन्ने बुझेर बीपीलाई अघि बढ्न नदिएको कारण राजा महेन्द्रले विपिलाई प्रधानमन्त्रीको कुर्सीबाटै हटाएको भन्ने कुरा उल्लेख गरे।
कार्यक्रममा सहप्रा.डा. दुर्गाबहादुर घर्तीले ‘मनोविश्लेषणात्मक साहित्यमा विश्वेश्वरप्रसाद कोइराला’ विषयमा चर्चा गरेका थिए। घर्तीले बीपीको समाजवाद नागरिकका चाहना र आवश्यकतालाई पूरा गर्नुपर्छ भन्ने राजनीतिक विषयले मान्छेका सबै कुरा समेट्न नसकेको बताए।
उनले भने, ‘नागरिकमा यस्ता अनन्त चाहना हुन्छन्, जुन राज्य र समाजले पूरा गर्न सक्दैन। समाजले देख्न नसकेको, बुझ्न नसकेको र राज्यले सम्बोधन गर्न नसकेको राज्यको चाहना भनेको मनको चाहना हो।’
घर्तीले मनको चाहना कस्तो हुन्छ भन्ने कुरा बीपीले आफ्ना सिर्जना मार्फत प्रफुस्टन गरेको बताए। उनले भने, ‘जति बेला नारीहरूले कुर्कुच्चा देखिने गरी कपडा लगाएर हिँड्न नसकिने अवस्था थियो, त्यो अवस्थामा चन्द्रवदन कथाकी पात्र चन्द्रवदनले आफूलाई मन परेको युवकसँग गएर कामेच्छा पूरा गरेर आएको विषयलाई जोड दिदै यस किसिमको मनको चाहनालाई समर्थन गर्दै कथाशिल्पलाई नेपाली साहित्य मा प्रवेश गराउने अग्रणी स्रष्टाको रुपमा बीपी को योगदान अतुलनीय रहेको कुरा बताए।
अर्का वक्ता सहप्रा. डा. रत्नमणि नेपालले ‘ समाजवादी चिन्तक बीपी’ विषयमा आफ्नो प्रस्तुति गरेका थिए। उनले बीपीको समाजवादी चिन्तनको मूल विषय राज्य आम नागरिकको अभिभावक बन्नुपर्ने रहेको बताए। नेपालले भने, ‘ढुंगा र माटोको थुप्रो मात्र राज्य होइन। राष्ट्र हुनका लागि त्यहाँ नागरिक हुनुपर्छ र नागरिकका विच सद्भाव,एकता,सहअस्तित्व सहित उनिहरुको इच्छा,आकांक्षा र चाहना पूरा भएको अवस्था नै बीपीको समाजवादको मूल मर्म हो।’ भन्ने कुरा उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रप्रासंघ केन्द्रीय कमिटीका महासचिव सहप्रा. राजेन्द्र गौतमले बीपी राष्ट्र र राज्य फरक हुन् भन्ने कुरा बुझेको समयभन्दा अघिको पदचापलाई पछ्याएर हिँड्ने नेतृत्व रहेको औँल्याए। उनले भने, ‘बीपी समयलाई आफ्नो पछि लगाएर हिँड्ने युगीन चेतना भएका नेतृत्व हुन्। त्यसैले हामीले अन्य नेताको माझमा राखेर बीपीलाई समान ढंगमा हेर्न हुँदैन।’
एकाइका अध्यक्ष सहप्रा. डा. गोपीचन्द्र काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपप्रा गोविन्द घिमिरेले वैदिक स्वस्तिवाचन गरेका थिए।