भ्रमण दशकको रूपमा सन २०२३ देखि २०३३ को दशकलाई मनाउने पर्यटन मन्त्रालयको घोषणा।

काठमाडौँ । सरकारले सन २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रूपमा मनाउन आवश्यक तयारी अघि बढाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्य योजना सार्वजनिक गर्दै नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रूपमा मनाउन आवश्यक तयारी अघि बढाउने जनाएको हो ।
पर्यटकको नेपाल बसाइँलाई थप सुरक्षित बनाउन क्राइसिस म्यानेजमेन्ट युनिट स्थापना गरी सञ्चालन गर्ने मन्त्रालयको योजनामा छ । त्यस्तै सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने, हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण खुल्ला गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गैर आवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने, सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने, नेपालको पदयात्रा तथा पर्वतारोहणलाई थप सुरक्षित बनाउन जिपिएस ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याउने, अन्तर प्रादेशिक हवाई सेवा बिस्तार गर्ने लगाएका योजना सार्वजनिक गरेको छ ।
esewa
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकास, पुनरुत्थानका लागि ७३ बुँदे कार्य योजना सार्वजनिक गरिएको बताए । कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरणका लागि कार्य योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले पर्यटन व्यवसायीलाई पनि प्रवर्द्धन गर्ने काम गरिने धारणा राखे ।
पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्य योजनामा तत्कालीन, मध्यकालिक र दीर्घकालीन योजनाहरू रहेको भन्दै यसको कार्यान्वयनमा विशेष जोड दिइने उनले बताए । मन्त्री श्रेष्ठले नेपालको वायुसेवालाई संसारको सबै सञ्जालमा पुराउनका लागि इयुको कालोसूचीबाट हटाउनका लागि छलफल भइरहेको जानकारी दिए ।
239 slide
मन्त्रालयले सार्वजनिक गरेको योजनामा पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ लगायतलाई संशोधन गर्ने उल्लेख छ भने काठमाडौँ उपत्यका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा जोड्ने गरी सम्पदा मार्ग निर्माण गर्ने पनि योजनामा उल्लेख गरिएको छ ।
सरकारले १० लाख पर्यटन भित्राउने गरी कार्यक्रम सञ्चालन गर्नेगरि विभिन्न योजना बजेटमार्फत पनि सार्वजनिक गरिसकेको छ ।