काठमाडौं । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।
समितिलाई उक्त रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले पुष्टि गरेका छन् ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।
बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए ।
अर्थमन्त्री शर्मामाथि छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको छ । सुरूमा १० दिनको म्याद दिइएकोमा बिहीबार पुन: ७ दिनको म्याद थपिएको थियो । तर, समितिले सरोकारवालासँग बयान लिएपनि ठोस प्रमाण भने भेटेको छैन ।