काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणाका बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षीलगायतका दलले सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले भने निर्वाचन आयोग यसअघि नै सिफारिस गरिसकेकाले एक साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको जनाएको छ ।
प्रधानमन्त्री देउवा र सरकारका मन्त्रीहरूले निर्वाचनको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग परामर्श लिइरहेको बताएका छन् ।
निर्वाचन आयोगका दाधिकारीले गत २२ असारमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न सुझाव दिएको थियो । निर्वाचन आयोगले भने १२० दिनको निर्वाचन अवधि कायम राखेर मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ ।