काठमाडौं । नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।
संविधान र कानूनी व्यवस्था अनुसार आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रुपमा प्रवेश गरेको बताउनुभयो । त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भईसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिनुभयो ।
निर्वाचन आयोगले आगामी मंसीर ४ गते आईतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही श्रावण ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । सोही अन्तरगत एमाले महासचिव पोखरेल, उपमहासचिवद्धय प्रदिप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराउनु भएको हो ।