नागरिकता विधेयक पुन प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित गर्ने तयारी भएको छ ।
संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची रोखको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ । सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने दुई वटा विकल्प रहेका छन् ।
राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्ने छन् ।
नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नुहुने छ । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्ने छन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुने छ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुन ेछ । सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ ।