अर्घाखाँचीमा स्क्रबटाइफसका बिरामी बढे , भुमिकास्थानमा संक्रमण बढ्दो



लक्ष्मण घिमिरे ,अर्घाखाची । 
अर्घाखाँची । अर्घाखाँचीमा डेंगी भन्दा स्क्रबटाइफस घातक देखिएको छ । डेंगीको संकामा जचाउन अस्पताल पुगेका अधिकांश बिरामीमा स्क्रबटाइफस भएको पाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा. जथन्नाथ तिवारीले जानकारी दिए ।
डा. तिवारीका अनुसार डेंगी र स्क्रबटाइफसको लक्षण एउटै हुन्छ । अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रबटाइफसका लक्षण हुन् भने उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेशी दुख्नु लगायत लक्षण डेंगीको पनि हो ।
अहिले डेंगी सबैतिर फैलिरहेको तथा डेंगी र स्क्रबटाइफसको लक्षण उस्तै भएकाले धेरै जना डेंगीको शंकामा अस्पताल पुग्ने गरेका उनले बताए। जमेको सफा पानीबाट निस्कने खैरो रंगको पोथी लामखुट्टेको टोकाइबाट डेंगी हुन्छ । यो रातीमा भन्दा दिउँसोमा सक्रिय हुने गर्दछ । अर्घाखाँची बसोबास गर्नेहरुमा डेंगी त्यती धेरै नदेखिएको तर बाहिरी जिल्लाबाट आउनेमा यो संक्रमण देखिएको उनले बताए । ‘जिल्ला भित्र त त्यस्तो खासै डेंगी देखिएको छैन, उनले भने‘ बुटवल काठमाण्डौबाट जिल्ला आउनेहरुमा यो संक्रमण देखिएको छ ।’
स्क्रबटाइफस झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट सर्छ । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण गर्नुका साथै कहिलेकाहीँ बहुअङ्ग विकारको अवस्था पनि सिर्जना हुनसक्ने छ। कोभिड–१९ सँगपनि मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आएपनि स्क्रबटाइफसको परीक्षण गर्न अस्पतालले अनुरोध गरेको छ ।
स्क्रबटाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरको भनाइ छ । समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन डा. तिवारीको सुझाव छ ।
पछिल्लो तथ्याङ्क हेर्दा अर्घाखाँची अस्पतालमा डेंगि तथा स्क्रबटाइफसका २३  जनाले उपचार गराएका छन् । कोरोनाका बिरामी शुन्य भएपनी डेंगी र स्क्रबटाइफस बाट अधिकांश संक्रमित छन् । अर्घाखाँचीको भुमिकास्थानमा स्क्रबटाइफस तिव्र रुपमा फैलिएको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी निम रानाले जानकारी दिए ।

अन्य समाचारहरु