काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण काम नसकी पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी काम अगाडी बढाउन निर्देशन दिएको हो ।
सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । समितिले सो राजमार्ग निर्माण गर्दा वातावरण, प्रविधि र वन्यजन्तुमैत्री तथा गुणस्तरीय बनाउने कामको सुनिश्चितताका लागि यसको डिजाईन तथा डिपिआर निर्माण गर्दाकै अवस्थामा ध्यान पुर्याउन सरकारलाई भनेको छ ।
समितिले विद्युतीय रेल सेवा संचालनका लागि विद्युतीय संरचना निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सांसदहरुले पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा सहज हुनेगरी त्यसको स्तरोन्नतिको काम तत्काल अघि बढाउन सरकारलाई झक्झकाएका थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानका पुल जीर्ण भएकाले त्यसको मर्मत गरी यातायात सूचारु गराउने काममा केन्द्रित हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।