– एजेन्सी ।
काठमाडौं । ६ महिनादेखि युक्रेन युद्धमा फसेको रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाल कायम सैनिक संख्याको १० प्रतिशत नयाँ भर्ति गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको हो । हाल रुससँग ११ लाख ५० हजार नियमित सैनिक रहेकोमा १ लाख ३७ हजार नयाँ भर्ति गरिने भएकाे छ । राष्ट्रपति पुटिनकाे आदेश आगामी जनावरिदेखि कार्यान्वयनमा जाने जनाइएको छ ।
नियमित सैनिक संख्या बढाएसँगै स्वयंसेवक सैनिकतर्फ पनि नयाँ भर्ति गर्न सकिने बताइएको छ । नयाँ सैनिक भर्तिपछि नियमिति सेना र स्वयंसेवक सेना गरी रुससँग कुल सैनिक संख्या २० लाख ४० हजार हुनेछ । रुसले युक्रेनको विशेष कारबाहीमा स्वयंसेवक सेना मात्रै क्रियाशील रहेको दावी पनि गर्दै आएको छ ।
रुसी संचार माध्यम तथा गैरसरकारी संस्थाहरुले भने निजी सुरक्षा कम्पनीहरुसँग रहेको जनशक्ति तथा अन्य सुरक्षा सम्बद्ध स्वयंसेवकहरुलाई युक्रेन युद्धमा आकर्षित गर्ने नीति लिइएको हुनसक्ने बताएका छन् । साथै युक्रेनमा युद्धमा जानेहरुलाई कैद माफ गर्ने गरी कैदी बन्दीहरुलाई पनि भर्ति गर्न सकिने आंकलन पनि गरिएको छ ।
पश्चिमा विश्लेषक तथा संचार माध्यमहरुले भने युक्रेन युद्धमा ठूलो सैन्य क्षति भएकाले त्यसको स्थानमा नयाँ भर्ति गर्न खोजेको आशंका गरेका छन् । रुसमा १८ वर्षदेखि २७ वर्ष उमेर समूहका हरेक पुरुषले कम्तिमा एक वर्ष सैन्य सेवामा काम गर्नुपर्दछ ।