१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्ला हुँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रहरी प्रधान कार्यालयले संख्या र बजेट सहितको बिवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृती मागिसकेको छ । अर्थले गत आइतबार माग भए भन्दा ५ हजार संख्या कम गरी १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृती दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयबाट स्वीकृती आएको जानकारी दिएका छन।  
गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्ने गरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ ।
यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । स्थाीनय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पुरा गरेका म्यादीलाई भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने भएको छ ।