चुनावमा हार्छु कि भन्ने डर छ: गगन थापा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिकिँदै गर्दा पराजित भइन्छकी भन्ने डर हुने गरेको बताएका छन्।

चुनावमा जित/हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको थापाले आफ्नो अनुभूति सुनाएका हुन्।

काठमाडौँको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले विद्यार्थीलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए।

महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे।

उनले भने,‘एउटा चुनाव जित्यो। त्यसपछि खुसी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकालाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैँ भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’